काठमाडौँ, ७ असार । वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागु गरेको भन्दै संघले भोलिदेखि आकस्मिकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागु हुने गरी काठमाडौँ बाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागु गरेको छ । तर, प्राधिकरणले आफूहरुसँग एकपटक पनि छलफल नगरी एकतर्फी रुपमा ल्याएको यो प्रावधान मान्न नसकिने संघको भनाइ छ ।
विमानस्थल सेवा शुल्क नियामवली, २०७८ मा यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिइ पूर्ववत् कायम गर्नुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।
नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भएका कारण युरोपियन एभिएसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएकाले देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भइरहेकाले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल थाल्न माग गरिएको छ ।
माग सम्बोधन नभएसम्म बाध्यात्मक रुपमा संघसँग आबद्ध हेलिकप्टर र हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालीन उद्धारलगायतका नियमित उडान असार ८ गतेदेखि स्थगित गरिएको संघले जनाएको छ ।