म गोर्खाली हुँ, मलाई केही हुँदैन : मुख्य प्रशिक्षक अलमुताइरी

80

काठमाडाैँ, २९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू गोर्खाली भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू गोर्खाली भएको र आफूलाई केही नहुने बताएका हुन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजमा अपडेट गरेको अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्ज हुने भन्नेबारेको स्टाटस सेयर गर्दै उनले उक्त भनाइ प्रस्तुत गरेका हुन् ।

‘आइएम गोर्खाली डन्ट वरी, वान टिम जय नेपाल’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

गएराति कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अलमुताइरी सोही स्थानमा लड्न पुगेका थिए ।

उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठले उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए । त्यसपछि उनलाई उपचारका लागि फारवानिया अस्पतालमा लगिएको थियो ।

समूह चरणमा कुवेतविरुद्धको खेल नेपालले ४–१ ले गुमाएको थियो । नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । यसअघि नेपाल छनोटको पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।

अन्तिम खेल नेपालले ३१ गते इन्डानेसियाविरुद्ध खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...