साकेला सिली प्रदर्शन गर्दै उभौली साकेलाको बिदाई

124

खोटाङ, २९ जेठ । खोटाङमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाडको बिदाई गरिएको छ । कोभिड–१९ को महामारी शून्य भएका कारण दुई वर्षपछि धूमधामका साथ साकेला उभौली बिदाई गरिएको हो ।

किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गर्दै यस वर्षको उभौली चाडको बिदाई गरिएको हो ।

‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गर्दै २ जेठमा सुरु भएको उभौली चाडलाई लोपोन्मुख सिली प्रदर्शन गर्दै बिदाई गरिएको हो । कोभिड–१९ को महामारीका कारण दुई वर्षसम्म औपचारिक रूपमा बिदाई गर्न नसकिएको साकेलालाई यसपल्ट धूमधामका साथ बिदाइ गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए ।

किरात राई समुदायमा एकै दिन सुरु भए पनि साकेलाको बिदाई भने ठाउँ विशेष फरक–फरक समयमा गर्ने प्रचलन रहेको छ । किरात राईको संस्कृतिलाई प्रचार–प्रसार गर्दै संरक्षण गर्ने उद्देश्यले किरात राई यायोक्खा र किरात सेवा समाजले जिल्लामा साकेला चाडको सतुवा र बिदाइमा बृहत् साकेला सिली प्रदर्शन गर्ने परम्परा बसाएको छ ।

साकेला उभौलीको बिदाईमा आयोजना गरिएको साकेला शिली प्रदर्शनीले दिनभर दिक्तेलको माटिकोरे खेलमैदान गुञ्जायमान बनेको थियो । ढोल, झ्याम्टा र गीतले गुञ्जायमान बनेको माटिइकोरेमा साकेला सिली प्रदर्शनीमा नाच्ने र रमिता हेर्ने दर्शकको बाक्लो भीड लागेको थियो ।

साकेला सिली प्रदर्शनीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, शेर्पा, दोर्पाचिउरीडाँडा, बाम्राङ, हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, साकेला गाउँपालिकाको रतन्छा लगायतका किरात राई समुदायले आ–आफ्नो ठाउँ विशेषको साकेला सिली प्रदर्शन गरेका छन् ।

साकेला सिली प्रदर्शनीमा नाच्नकै लागि आ–आफ्नो भेषभुषामा सजिएका किराती र गैरकिराती रमाइलो गर्दै गाउँ–गाउँबाट दिक्तेल आउने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...