जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा पुनः शाक्य निर्वाचित

189

खाँदबारी, २५ जेठ । जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।

जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।

जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा (एमाले)ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ (३) बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित भइन् । उहाँ एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी भइन् । विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पाएकी थिइन् ।

जिससको खुला सदस्यमा माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित भए ।

महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तिमाया गुरुङ विजयी भए । दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भए ।

Share This:
सम्बन्धित खबर
Loading...