जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई

83

विराटनगर, २१ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमासम्बन्धी उद्योगी व्यापारीहरुसँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले कोठामा बसेर मन्त्री र कर्मचारीद्वारा बनाइने बजेट यथार्थपरक नहुने भएकाले १४ जिल्लामा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिसँग गहन छलफल एवम् सुझाव संकलन गरिएको धारणा राखे ।

मुख्यमन्त्री राईले प्रदेशको औद्योगिक उत्पादन र आर्थिक गतिविधि चलायमान गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिँदै उद्योग र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीका लागि सरकारले आवश्यक वातावरण र नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा कृषिमा अनुदानको ठुलो रकम खर्च भए पनि त्यसको सही सदुपयोग नभएको चर्चा गर्दै आगामी बजेटमा उत्पादनको परिणामको आधारमा अनुदान दिने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मुलुकमा कृषि उपजको आयात डरलाग्दो अवस्थामा रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न वाणिज्य बैंकले सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउन पर्नेमा जोड दिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य संघ प्रदेशका अध्यक्ष टीकाराम ढकाल र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवम् उपाध्यक्ष राजेन्द्र राउतले सुनसरीको बर्जु गाउँपालिकामा रहेको ६३० बिघा जग्गा प्रदेश सरकारले स्वामित्वमा ल्याइ औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने धारणा राखे ।

प्रदेशका १४ जिल्लाका वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष, विभिन्न व्यापारी संघसंस्थाका प्रतिनिधिहरुले निर्यातमूलक उद्योग स्थापनामा विशेष सहयोग गर्नुपर्ने, रासायनिक मल समयमा उपलब्ध गराउनुपर्ने, कृषि उत्पादनको बजारीकरणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...