आर्थिक संकट देखिनुमा सरकारको गलत मौद्रिक नीति : शंकर पोखरेल

77

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सरकारको गलत मौद्रिक नीतिका कारण मुलुकमा आर्थिक संकट आउन थालेको बताएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले हुन्डी कारोबारलाई प्रोत्साहन हुने खाले नीति लिएको उनले आरोप लगाए । ‘नेपाली बजार र बैंकमा नेपाली पैसा गायव भए । ती पैसा कसरी गायव भए ?’ उनले भने, ‘हाम्रो पैसा अवैध बाटोबाट विदेश पलायन भयो वा काला बजारीले दुरुपयोग गरे ।’

गठबन्धनको सरकार बनेसँगै विदेशी सञ्चिति रकम घटेको उनको दाबी छ । एमालेको सरकार रहँदा विदेशी सञ्चिति मुद्रा ११ महिनासम्म थेग्ने रहेकामा अहिले ६ महिना पुगेको उनले बताए ।

पछिल्लो समय अस्वाभाविक सामान आयात र गैरबैंकिङमार्फत् आयात बढाइएकाले नेपालमा आर्थिक संकट आउने स्थिति रहेको पोखरेलको धारणा छ ।

सरकारको सल्लाहकारको रूपमा रहेको राष्ट्र बैंक मौन रहेकाले थप आर्थिक संकट देखिन थालेको उनले सुनाए । पोखरेलले थपे, ‘सरकारले बनाउने नीतिमा राष्ट्र बैंकले सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा देखिन थालेको आर्थिक संकटलाई चिर्न सबै युनियनको महत्वपूर्ण भूमिका रहने बताए । नेपालमा विदेशी मौज्दात रकम कम भएकाले आर्थिक संकट आउँछ कि भन्ने अवस्था मात्रै रहेको उनले उल्लेख गरे ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याइने भनिएकाले राष्ट्र बैंकसामु थप चुनौती थपिएको उनले बताए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिमिल्सिनाले ट्रेड युनियन गठन प्रक्रियालाई थप सहज बनाउनुपर्ने सुझाव दिए । मालिकको व्यक्तिगत स्वार्थको दबाबका लागि युनियन खोल्ने प्रवृत्ति अन्त्य गर्न सके मात्र ट्रेड युनियनले कर्मचारीमा हितमा काम गर्न सक्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...