काठमाडौँ, २० जेठ। यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।
एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै आज (जेठ २० गते) देखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।
यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एयरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
४ दिनअघि पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।