नागरिकता ऐन छिटो पारित गर्न माग

744

काठमाडौँ, १८ जेठ । संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विधेयक अझ सुल्झन सकेको छैन । नागरिकता समस्या समाधान गर्न संसद्‌मा पेस भएको नागरिकतासम्बन्धी विधेयक ३ वर्षसम्म पनि टुंगो लागेको छैन । नागरिक विधेयक पारित नहुँदा नागरिकता नपाउनेहरु सरकारी सेवा/सुविधाबाट समेत वञ्चित भइरहेका छन् ।

नागरिकता विधेयकलाई चाँडो संसद्‌बाट निकास दिन र नागरिकता पाउने अधिकारको माग गर्दै नागरिकताविहीनहरुले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

नागरिकता अधिकारबाट वञ्चित नागरिकताविहीन नागरिक संघर्ष समितिले नागरिकता ऐन संशोधन गरी नागरिकता पाउनबाट वञ्चितहरुलाई न्याय दिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

संविधानअनुसार नागरिकताको माग गर्दै पटक–पटक स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा ज्ञापनपत्र बुझाए सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको विरोध प्रदर्शनमा सहभागीले बताए ।

कार्यक्रम संयोजक इन्द्रजित साफीका अनुसार जन्मको आधारमा नेपाली नागरिकता पाउनुपर्ने लाखौँ नेपालीका सन्तान नागरिकताविहीन हुनुपर्ने अवस्था रहेको छ ।

संविधानअनुसार १६ वर्षमै नागरिकता पाउनु पर्ने भए पनि नागरिकता विधेयक पारित गर्न ढिलाइ हुँदा ३५ वर्षको हुँदासम्म नागरिकता नपाएर भौतारिँदै हिँड्नुपरेको नागरिकताविहीन चन्दन मण्डलले गुनासो गरे ।

उनले भने, “३५ वर्षसम्म पनि नागरिकता नपाउँदा मेरो भविष्य खेर गयो । नागरिकता नहुँदा लाइसेन्स बनाउन सकिएको छैन । बाइक छ तर डराई–डराई चलाउनु परेको छ । सरकारले अब पनि हाम्रो माग सुनुवाइ नगरे नेता र सांसद्लाई कुट्छौँ ।”

आफूहरुको मागलाई बेवास्ता गरिए आन्दोलनमा जाने विरोध प्रदर्शनमा सहभागी नागरिकताविहीनहरुले चेतावनी दिए । विगतमा नागरिकता नपाएर गुमाएका सेवा/सुविधाको क्षतिपूर्ति सरकारले भर्पाइ गर्नुपर्ने उनीहरुले माग गरे ।

विरोध प्रदर्शनमा सहभागी निरज कामतले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था संविधानमै रहेको र आमाबुबाको नागरिकता भएपनि तिनका सन्तान नागरिकता पाउनबाट वञ्चित हुनुपरेको छ । उनले भने, “मेरा आमाबुबाको नागरिकता छ । तर, मैले अहिलेसम्म नागरिकता पाउन सकेको छैन ।”

विरोध प्रदर्शनमा सहभागीले संविधानको भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्वयन गरी तत्कालै नागरिकता ऐन संशोधन गर्नुपर्ने माग गरेका छन् । संसद्‌मा विचराधीन नागरिकता ऐन संशोधन नहुँदा आफूहरुले नागरिकताबाट वञ्चित भइ सरकारी सेवासुविधा गुमाउनुपरेको विरोध प्रदर्शनमा सहभागी रोहितकुमार ठाकुरले गुनासो गरे ।

उनले भने, “नागरिकता वितरणमा राजनीति नहोस् । नागरिकता बिनाको जीवन नरकजस्तो भयो । एउटा सिमसमेत निकाल्न सकेको छैन ।”

सरकार फेरिएपिच्छे नागरिकताविहीनलाई नागरिकता वितरण गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुले बताए । नागरिकता नहुँदा रोजगारीबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको विरोध प्रदर्शनमा सहभागीको गुनासो थियो ।

गृह मन्त्रालयका अनुसार ०६५ सम्म १ लाख ९० हजार ७२६ जन्मसिद्ध नागरिकले नागरिकता नपाएको तथ्यांक छ ।

महिला, कानुन र विकास मञ्चले गरेको अध्ययनअनुसार हालसम्म नेपालमा जन्मसिद्ध नागरिकताविहीनको संख्या ५ लाख ८० हजार रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...