काठमाडौँ, १६ जेठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।
सोमबार साँझ पोखराबाट शवहरु काठमाडौँ ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् पोखरा हुँदै काठमाडौँ ल्याइएको हो ।
शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो ।
आइतबार दिनभर खोजी गरिए पनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।