काठमाडौँ, १५ जेठ । तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे । “मुस्ताङ लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,” कँडेलले भने,“मौसम खराबीका कारण हेलिकोप्टर जान नसकेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।”
तारा एयरको (९एन एइटी) विमानमा ६ जना विदेशी र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।
बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो ।