गणतन्त्रलाई सुदृढ र सफल बनाउनुपर्छ : मुख्यमन्त्री राई

181

विराटनगर, १५ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठुलो बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानको मर्मअनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न सबैको काँधमा ठुलो जिम्मेवारी आएको धारणा राखे ।

मुख्यमन्त्री राईले गणतन्त्र स्थापनापछि अहिले हामी सिकाइको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पूरा हुँदै जाने विचार व्यक्त गरे । उनले गणतन्त्र स्थापनापछि विभिन्न क्षेत्रका पछिपरेका नागरिकको हकअधिकार प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरी अन्य व्यक्तिको जीवन बचाउन सबैभन्दा ठुलो पुण्यकार्य हुने उल्लेख गरे ।

उनले रक्तदान गर्ने दातालाई प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...