काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नको जबाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको बताए ।
भूमिसम्बन्धी विषय संवेदनशील हो वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उल्लेख गर्दै उनले यसअनुरुप नेपालको भूमि फिर्ता ल्याउने कूटनीतिक प्रयास जारी रहेको बताए । सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको उनको भनाइ छ ।
नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको र सहयोगको क्षेत्र विविध र व्यापक रहेको जनाउँदै उनले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय सम्बन्ध महत्वपूर्ण आयामका रुपमा रहेको बताए । नेपालको भू–बनोटका कारण नेपालमा उत्पादित बिजुली सहज बजार भारत हुने भएकाले यसै पृष्ठभूमिमा नेपाल भारतबीच ऊर्जा व्यापार सम्झौता भएको बताए ।
नेपाल एक चीन नीतिप्रति दृढ रहेको दोहोर्याउँदै प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । विगतमा चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएकै बेला रोक लगाएको सचेत गराएको उनले सदनलाई स्मरण गराए ।
प्रधानमन्त्री देउवाकाे संवोधन