काठमाडाैँं, ११ जेठ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः बढाएको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।
यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.१ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।
पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ ।