गगन थापाले भने– अब मंसिर या फागुनमा संघ र प्रदेशको चुनाव हुन्छ, तयारीमा लाग्नुस्

226

काठमाडाैँ, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले जनताले निर्वाचनमार्फत् दिएको जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न आग्रह गरे ।

थापाले यसपटक कांग्रेसले सिटमात्र नबढाएर मतदाता पनि बढाएको बताए । ‘करिब २०४९ सालको जस्तो अभूतपूर्व सफलता प्राप्त गरेको छ,’ उनले भने,‘नेपाली कांग्रेसको मतदाता बढेका छन् । सिटमात्रै होइन कांग्रेसको लोकप्रियता पनि बढेको छ ।’

यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएकोसमेत थापाले बताए । ‘यो आम निर्वाचनको झल्को आउने खालको भयो । एकप्रकारले यो आमनिर्वाचनजस्तै भयो,’ उनले भने ।

काठमाडौँ महानगरपालिकालगायत केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेकोतर्फ संकेत गर्दै संघीय संसद्समेत रहेका थापाले मतदातामा रिस, आक्रोश र आलोचना रहेको बताए ।

‘मतदाताहरु रिसाएका छन् । उनीहरुभित्र आक्रोश रहेको छ । उनीहरु परिवर्तन र परिणाम खोजिरहेका छन्,’ उनले भने,‘त्यसैले मतदाताहरुको आक्रोश बुझ्नुपर्छ । आलोचना बुझ्नुपर्छ । दोहोरिन चाहेका जनप्रतिनिधिहरुलाई लज्जाजनक पराजित गरेका घटनाबाट सिकौँ ।’

उनले पार्टी पराजित भएको नगर र वडामा अबको पाँच वर्ष प्रतिपक्षमा रहेर निरन्तर जनताबीच नै काम गर्न आह्वान गरे ।

एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकाले अहिलेको अवस्थामा पुगेको थापाको तर्क थियो । अब एमाले र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बारेमा चर्चा गर्ने समय कांग्रेससँग नरहेको उनले बताए ।

‘एमालेले परमादेशले बनाएको पार्टीसँग उभिनुहुन्छ कि कांग्रेसको गठबन्धनसँग भनेर चुनावमा उत्रियो । घर मिलाउन नसक्दा उहाँहरु दुर्घटनामा पर्नुभयो,’ उनले भने,‘हामीले स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गरिसकेको छ हाम्रो जिम्मेवारी प्रश्न गर्ने होइन । आलोचना गर्ने होइन । सकियो अब एमालेको बारेमा कुरा गर्ने होइन । ओलीका बारेमा चर्चा गर्नु पर्दैन । अब हाम्रो बारेमा कुरा गर्ने हो ।’

महामन्त्री थापाले स्थानीय तह निर्वाचनमा कांग्रेसको सफलता भएको भन्दै अब संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

‘नयाँ अध्याय सुरु भयो । अब जिम्म लिनुपर्छ । हामीले संंघ र प्रदेशको सरकारले सही ढंगले चलाउनुपर्छ, चुनाव गर्नुपर्छ,’ उनले भने,‘प्रदेशको चुनाव आउँदै छ । मंसिरमा वा फागुनमा । सरकारले निर्णय गर्ला ।’

केही स्थानमा टिकट वितरणका कारण हार हुनुपरेकोतर्फ औँल्याउँदै थापाले यस्तो गल्ती अब दोहोर्याउन नहुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...