चितवन, ८ जेठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेणु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् ।
८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।
उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरिन् ।
भरतपुर महानगरमा हालसम्म १ देखि १७ नम्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ ।
यस महानगरमा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।