काठमाडौँ, ७ जेठ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित भएका छन् ।
तिवारीले नेपाली कांग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी भए । विजयी तिवारीले ४ हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे ।
त्यस्तै, गुन्जादेवी मौर्याले कांग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८०८ मतले हराउँदै विजयी भइन् । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गरिन् ।
एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा नम्बर १, २ र ८ गरी तीन ओटा वडा जितेको छ । त्यस्तै, कांग्रेसले वडा नम्बर ३ र ७ गरी दुई ओटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।
यस्तै, यशोधरा गाउँपालिकाका नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो । ८ वडा रहेको गाउँपालिका मा ४२ जना पदाधिकारीहरु निर्वाचित भएका छन् ।