- रोहन जिसी
बागलुङ, २५ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् ।
नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत वडा नम्बर ७ वडा कमिटी रेशले शनिबार नुन्थलामा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले एमालेलाई विजयी गराउन आतुर रहेको भन्दै नेपालीले एमालेले चुनाव जित्ने सूचनापछि गठबन्धनमा रहेका दलका नेताहरु मतदातालाई धम्काउँदै हिँडेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज संघीय सांसद डा.सूर्य पाठकले नेकपा एमाले नेतृत्व रहेका तीनओटै सरकारले गरेको कामका आधारमा नेपाली जनताले एमालेका उमेदवारहरुलाई विजयी गराउने बताए ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले काठेखोलाको आर्थिक, विकास, सामाजिक रुपान्तरणका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आह्वान गरे ।
काठेखोला गाउँपालिकामा एमालेका उमेदवार डिलबहादुर कार्की र उपाध्यक्षका उमेदवार कोपिला पुनले काठेखोलाको पहिचान, विकास र प्रवर्द्धनका लागि एमालेले लिएका कार्यक्रम, योजना र रणनीतिका आधारमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनीहरुले रेशवासी जनताले लामो समयदेखि एमालेको पक्षमा मतदान गरेर एमालेलाई स्थापित गर्न महत्वपूर्ण योगदान गरेको भन्दै यो स्थानीय निर्वाचनमा थप मत दिएर आफूहरुलाई विजयी गराउनका लागि आह्वान गरे ।