काठमाडौँ, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले झुठा र भ्रमपूर्ण सूचनाको प्रवाहको विषय विश्वव्यापी चुनौती बनिरहेको बताएकी छन् ।
राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा उनले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताइन् ।
उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताइन् । राष्ट्रपति भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनको हको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताइन् ।
“नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्ति स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्व मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछुण रहने परिवेश निर्माण भएको छ ।”
उनले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठापोषण प्रदान गरी सञ्चार सिटीका रुपमा काम गरिरहेको बताइन् ।
राष्ट्रपति भण्डारीले बाढी पहिरो, भूकम्प, डढेलो एवम् कोभिड–१९ महामारीजस्ता विपत्को समयमा आमजनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण सहयोग गर्दै आएको चर्चा गरिन् ।
पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनुहुँदैन भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न आह्वान गर्दै उनले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताइन् ।