संविधान र लोकतन्त्र बचाउन गठबन्धन : मन्त्री श्रेष्ठ

121

दमौली, २४ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका छन् ।

तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरु गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरुलाई कमजोर नठान्न आग्रह गर्दै भने,“हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ,” उनले भने । समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने धारण उनले राखे ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले गठबन्धनप्रति इमान्दार हुन आग्रह गरे । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष शंकरनारायण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण ऊर्जाका साथ लागि पर्ने बताए । प्रमुखमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्गलगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...