नेपालगञ्जमा पाँच दलीय गठबन्धनको संकल्प पत्र सार्वजनिक

120

नेपालगञ्ज, २१ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक समारोहका बीच संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मुल नाराका साथ उक्त संकल्प पत्रमा सद्भावको सहर, हरित नगर, रिङरोडसहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्यायसहितको रुपान्तरणलाई समावेश गरिएको छ ।

संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा कोषदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाइ, विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।

यस्तै नेपालगञ्जलाई शैक्षिक हबका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाइ केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्यलगायत निरोधात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र पुनः स्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।

कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरिएको छ ।

यसका साथै युवा युवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैंकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ ।

संकल्प पत्रमा स्थापित तथा उदियमान गन्तव्यहरुको पहिचान, सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पुर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने कुरालाई पर्यटनको विषयमा उठान गरिएको छ, भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदिको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याइनेलगायत महत्वपूर्ण विषयहरु संकल्प पत्रमा समावेश गरिएको छ ।

संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा अगाडि सारिएका प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए ।

“जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले हुन सकेन, यदि हामीले व्यवस्थित तरिकाले गठबन्धन गर्न सकेको भए गठबन्धन दलहरुलाई बढी उपलब्धि हुने थियो, तर त्यो हुन सकेन,” उनले भने, “म भन्न चाहन्छु, हाम्रो जुन केन्द्रीय तहबाट तालमेल भएको छ, यो गठबन्धनलाई सफल बनाउने तपाई हामी सबैको दायित्व हो ।” पार्टीभित्र धेरै व्यवस्थापन गर्न समस्या भएका कारण नेपालगञ्जको वडा तहमा गठबन्धन हुन नसकेको उनको भनाइ छ ।

गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ् लगायत विविध विषयलाई समेटिएको बताए । चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पूरा कार्यान्वयन गरिने उनको भनाइ छ । गठबन्धनका उम्मेदवारप्रति मतदाताले देखाएको उत्साह देखेर अरु उम्मेदवारहरु अत्तालिसकेको विष्टले बताए ।

“गठबन्धनप्रति धेरै मतदाताल देखाएको उत्साह देखेर अरु उम्मेदवार अत्तालिसकेका छन् । नेपालगञ्जका मतदाता र सबै क्षेत्रका बुद्धिजीवीले पनि हामीलाई विश्वास गर्नुभएको छ,” उनले भने । कतिपय उम्मेदवारले गठबन्धनका उम्मेदवारविरुद्ध अफवाह फैलाउने कोसिस गरिरहेको बताए । आफूहरु धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नमा उत्तिकै जिम्मेवार रहेको विष्टले बताए । उनले थपे, “हाम्रो पहिलो प्राथमिकता नै सामाजिक सद्भाव हो ।”

सो क्रममा नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफूहरु विरुद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताए। “हामी विरुद्ध अनेक भ्रम फैलाउन खोजिएको छ, तर मतदाताहरु सचेत हुनुहुन्छ, यो भ्रमलाई चिर्दै गठबन्धनलाई जिताउन जरुरी छ,” उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा (माओवादी केन्द्र)का नेपालगञ्ज उपमहानगरपालिका उपाध्यक्ष ताराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जगदीश ढकालले पाँच दलीय गठबन्धन केन्द्रबाटै निर्माण भएको र नेपालगञ्ज उपमहानगरपालिकामा आफ्ना साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताए । यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको उनीहरुले जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...