बाँकेबाट करिब एक किलो सुनसहित पक्राउ

190

काठमाडौँ, २० वैशाख । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगरपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबाट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रंगको झोलाभित्र खान तलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलि ग्राम अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैंगलोरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...