गलकोटमा ५ दलीय गठबन्धनको चुनावी अभियान सुरु

104
  • थम्मन थापा

बागलुङ । सत्तारुढ ५ दलीय गठबन्धनले गलकोट नगरपालिकामा चुनावी अभियान शुभारम्भ गरेको छ ।

कार्यक्रममा बोल्दै संविधान सभाका पूर्वसदस्य नरबहादुर पुन‘निरज’ले संविधानको रक्षा गर्दै जनताको ठुलो त्याग र बलिदानीपछि प्राप्त उपलब्धिको संरक्षण गर्दै देशको समृद्धिका निम्ति गठबन्धन गर्नुपरेको बताएका छन् । उनले अहिलेको यो लोकतान्त्रिक वाम गठबन्धन जनताको खुसी, समृद्धि र सुखी नागरिक बनाउन वातावरण सिर्जना गर्न एक ढिक्का भएर अगाडि बढिरहेको उल्लेख गरे ।

उनले कसैको लोभ, प्रलोभन र भ्रममा नपरी गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरे ।

त्यस्तै, संविधान सभा सदस्य क्याप्टेन पूर्ण बहादुर रानाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी गलकोट नगरको कृषि, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कला संस्कृति, फोहोर व्यवस्थापनमा काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे । गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले नगरपालिकाको स्थापना कालमा समस्या एवं कर्मचारीहरुको अभाव झेल्दै गर्दासमेत नगरपालिकालाई सुशासन र आर्थिक पारदर्शितामा अब्बल नगरपालिका बनाएको बताए ।

उनले नगर गौरवका विभिन्न ठुला योजनाहरु सञ्चालनमा रहेकाले ती पूर्वाधार, समाजिक विकास, स्वास्थ्य विकासलाई एउटा उचाइ सम्म पुर्‍याउन र बाँकी रहेका अभिभारा पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनबाट उम्मेदवार रहेको नयाँ नेतृत्वलाई भारी मतान्तरका साथ विजयी बनाउने विश्वास व्यक्त गरे । गैरेले गठबन्धनको विरुद्धमा उत्रिएका विभिन्न उम्मेदवारहरुलाई गठबन्धनमा आबद्ध हुन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपमेयर पदका उम्मेदवार फमलाल निउरेले संविधानको रक्षाका निम्ति ५ दलीय गठबन्धन निर्माण गरिएको बताएका छन् । उनले गलकोटको समृद्धि र विकासका लागि गठबन्धनको आवश्यकता रहेको भन्दै आम गलकोटबासी नागरिकलाई आफूहरुलाई भारी मतका साथ विजयी गराउन अपिल गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, नेकपा (एकीकृत समाजवादी)का जिल्ला सदस्य लालबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नम्बर १ अध्यक्ष पदका प्रत्यासी उम्मेदवार लालबहादुर राना, नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर ३ अध्यक्ष पदका उम्मेदवार फमबहादुर खत्री, नेकपा (माओवादी केन्द्र) गलकोट नगरपालिका वडा नम्बर ७ अध्यक्ष पदका उम्मेदवार राज थापा मन्तव्य राखेका थिए । गठबन्धनको चुनावी कार्यक्रम शुभारम्भ पहिले बाजागाजासहितको र्‍यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...