त्रिभुवन विमास्थलबाट २ किलो सुनसहित ५ जना पक्राउ

252

काठमाडौँ । नेपाल प्रहरीले दुई किलो ३३२ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जनालाई प्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलका सफाइ कर्मचारीसमेत छन् ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुरुमा पाँचथरको याङवरक गाउँपालिका–४ का २८ वर्षीय भीमकुमार मबोले र नुवाकोटको तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङलाई सुनसहित पक्राउ गरेको थियो । दुवैजना सुनगाभा सप्लायर्स एन्ड प्रालिमार्फत् विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी हुन् ।

माबोले र तामाङलाई सोधपुछको क्रममा उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एन्ड प्रालिमार्फत् सरसफाइ गर्न सुपरभाइजरको रुपमा ड्युटी खटिएका सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरीसमेत पक्राउ परेका छन् ।

दुबइबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानभित्र उनीहरु बिहीबार सरसफाइका लागि गएका थिए । जसमध्ये माबोले विमानको सौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुटहरु बाहिर ल्याइ फोहोर जम्मा गर्ने स्थानमा आएर तामाङलाई दिएका थिए । उक्त बिस्कुटहरु उनीहरुले बाँडेर आ–आफ्नो पर्समा राखेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा उनीहरुसँग सुन भएको पत्ता लागेको थियो ।

माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट थान– १० (तौल १ हजार १६६ ग्राम) र तामाङको पर्सबाट सुनको बिस्कुट थान–१० (तौल १ हजार १६६ ग्राम) बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ बरामद सुनसहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...