महेन्द्रनगर जग्गा अनियमितता प्रकरण : १०९ जनामाथि विशेष अदालतमा मुद्दा

229

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्तिको गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीन ओटा मुद्दा दर्ता गरेको हो ।

२०६४ पुष ६ गतको निर्णयबाट ९ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा वितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगोदाबीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशनसिंह थापासमेत २२ जना उपर मुद्दा दायर गरेको अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

त्यस्तै पल्टु राना तत्कालीन अध्यक्ष रहेका बेला ९ कर्मचारीलाई जग्गा वितरण गरिएको भन्दै तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जना उपर मुद्दा दायर गरिएको उनले बताए । त्यस्तै, समितिको जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अन्य ६२ जनामाथि पनि मुद्दा दर्ता भएको उनले बताए ।

यसअघि तत्कालीन समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्रीवितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो । स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले केही बिघा मात्रै बाँकी रहेको अख्तियारको अनुसन्धानले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...