एमाले काठमाडौँ महानगरको घोषणा पत्र ३ भाषामा : वृद्धभत्ता १२ हजारबाट १८ हजार पुर्याइनेदेखि ज्येष्ठ नागरिक अस्पताल सञ्चालनसम्म
काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको चुनावी प्रतिवद्धता पत्र तीन भाषामा सार्वजनिक गरेको छ । नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको हो ।
उक्त प्रतिवद्धता पत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौँको स्थानीय भाषा नेपालभागाा र युवा पुस्ता एवम् दुवै भाषा नबुझ्ने विदेशीहरुका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ ।
नेपालमा भएका सबै भाषाहरुप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धता पत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकाले एमाले काठमाडौँ महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिवद्धता पत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख एवम् एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले बताए ।
एमालेले काठमाडौँ महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन् । यसमा काठमाडौँको सम्पदा, पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन आदि जस्ता विषय केन्द्रित बुँदाहरु रहेका छन् ।
१०८ बुँदाको सार्वजनिक प्रतिवद्धता पत्रमा नेकपा (एमाले) नेतृत्वका जनप्रतिनिधिहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भाव, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुननिर्माण, अमूर्त सम्पदाहरुको जगेर्ना जस्ता कार्य अघि बढेको उल्लेख छ ।
महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिँदै आएको वार्षिक रु १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पुर्याउने उल्लेख गरेको छ । ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरु संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपवृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघसंस्थासँग समन्वय र रहकार्या गरिनेछ,” प्रतिवद्धता पत्रमा भनिएको छ,“युवाहरुको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वास्थ जीवनशैली, नेतृत्व विकास, सकरात्म सोचसम्बन्धी युवासँग मेयर कार्यक्रम सञ्चालन गरिने छ ।”
प्रतविद्धता पत्रमा बढी भिडभाग हुने सार्वजनिक स्थलहरुमा आवश्यकता अनुसार सुविधा सम्पन्न र वातावरणमैत्री ६० ओटा आधुनिक सार्वजनिक शौचालयहरुको निर्माण गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । सरकारी वा सामुदायिक अस्पतालहरुसँगको सहकार्यमा कम्तिमा ५० शय्याको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याइने छ,” प्रतिवद्धता पत्रमा भनिएको छ,“महानगरवासीको स्वास्थ्य अवस्था पहिचानका लागि हेल्थ कार्ड प्रणाली अवलम्बन गरिने छ । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ ।”
महानगरको सूचना नियमित र प्रभावकारी संप्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।
लैंगिक समानताको आधारः छोरी बुहारीलाई रोजगारी कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराइ रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिवद्धता पत्रमा प्राथमिकतामा राखिएको छ ।