मेलम्चीको पानी समानुपातिक ढंगले वितरण हुनुपर्छ : मन्त्री चौधरी

276

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० ओटै पानी रिजर्भ ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

यहाँस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताएका हुन् ।

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडबक्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार सुरुङको पानी सुन्दरीजल आइसकेपछि मन्त्री चौधरीले पानी प्रशोधन केन्द्रमै समस्या र समाधानका विषयमा सम्बद्ध निकायका प्रमुख र सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन् ।

“आगामी वैशाख ११ गते काठमाडौँ उपत्यकाका नागरिकका घरको धारामा पानी आउनुपर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन,” मन्त्री चौधरीले भने, “पानी वितरणका लागि धेरै ओटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।”

उनले काठमाडौँको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनका लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे ।

४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने गरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको शुल्क उठाउन केयुकेएललाई निर्देशन दिए ।

मन्त्री चौधरीको प्रश्न गर्दै भने, “मेलम्चीको पानी काठमाडौँबासीले प्रयोग गरेबापत शुल्क लिने हो भने आफूहरुलाई शुल्कको २५ प्रतिशत आम्दानी स्थानीय हेलम्बु गाउँपालिकाले मागिरहेको अवस्थामा शुल्क उठाउने कुरामा केयुकेएलले किन प्रगति गर्न सकेन ?”

एसियाली विकास बैंक (एडिबी)ले समेत केयुकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए । उनले वर्षायाममा मेलम्ची नदीमा पुन बाढी आउनसक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्वसूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नु पर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाइड्रोलिक गेट हाल्न निर्देशन दिए ।

खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपातिक ढंगले वितरणका लागि पूर्वतयारी गर्नु पर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनुपर्ने बताए ।

खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाले कतै दुई ओटा धारामा पानी आउने र कतै दुई ओटै धारामा पानी नआउने अवस्थामा उपभोत्तालाई असमानताको महसुस हुने र महसुल संकलनमा समस्या हुने बताए ।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए । उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।

उनले काठमाडौँ उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई ४१० किलोमिटर पाइप लाइनमा मात्र पानी वितरण हुने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...