काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनीसमेत दिए । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुइँमा पछारिएको दाबी गरे ।
उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे । त्यस्तै, अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखे ।
अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरु रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।
कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए ।
त्यस्तै, खनालले केपी ओलीकै कारण पार्टी एकता जोगाउन नसकिएको बताए ।