काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की नेतृ एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् ।
ललितपुरमा आयोजित कार्यक्रममा उनले भनिन्,“अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।”
जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन् । उनले भनिन्,“प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धन बलियो बनाउनुपरेको हो ।”
यसैबीच ऊर्जामन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताइन् । जलविद्युत्बाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उनले सिंचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको उनको भनाइ थियो ।