एमालेभित्रका क्रान्तिकारीलाई त्यहाँबाट मुक्त गर्नुपर्छ : प्रचण्ड

222

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेमा ८० प्रतिशत ‘इमान्दार’ कम्युनिस्टहरु रहेको बताएका छन् ।

बिहीबार खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’ बोल्दै एमालेभित्रका क्रान्तिकारीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए ।

उनले भने, “एमालेभित्र सबै खराब छन् भन्ने होइन । त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी इमान्दार कम्युनिस्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरु छन् । तर, नेतृत्व चाबीजस्तो हो । नेतृत्वले यति भ्रम दिएर राखेको छ, तिनीहरुलाई बन्दी बनाएर राखेजस्तो लाग्छ ।”

प्रचण्डले एमालेभित्रका कम्युनिस्टहरु प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएको र त्यसबाट मुक्त गरेर उनीहरुको नेतृत्व आफूहरुले गर्नुपर्ने बताए ।

उनले भने,“एमालेमा केही क्रान्तिकारी साथीहरु छन् । उनीहरु बन्दी जस्तै भएर बसेका छन् । उनीहरुको नेतृत्व हामीले गर्नुपर्छ । उनीहरुलाई मुक्त गर्नुपर्छ । एकताका समयमा धेरै एमालेका साथीहरुले बल्ल नेता भेटियो भन्नुभएको थियो । त्यसैले त्यहाँका साथीहरुलाई गोलबन्द गरेर हामीले नेतृत्व गर्नुपर्छ ।”

माओवादी एकता र ध्रुवीकरण भनेको कम्युनिस्टकै केन्द्र बन्ने अभियान रहेको उनको भनाइ छ । माओवादीहरु फेरि एक ठाउँ जम्मा हुनु राम्रो भएको बताउँदै त्यतिले मात्रै समाजवादतर्फ जाने उद्देश्य पूरा नहुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...