निर्वाचन सार्न अनेक षड्यन्त्र र कोसिस भइरहेका छन् : ओली

229

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम रहेको बताएका छन् ।

एमाले विराटनगरद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट संघीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए ।

ओलीले नेपालको पानी नेपालीका लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे ।

ओलीले एमालेलाई सक्छौँ भनेर विरोधीले बनाएको सारा षड्यन्त्रलाई नेपाली जनताले पराजित गरिदिएको पनि बताए ।

अध्यक्ष ओलीले परमादेशबाट बनेको अपवित्र गठबन्धन निर्वाचन नगराएर मुलुकका स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागिपरेको आरोप लगाए । “मुलुकमा चुनाव नगर्नका लागि अनेक षड्यन्त्र र कोसिस भइरहेका छन् । यसलाई अदालत, निर्वाचन आयोग र नेपाली जनताले मान्नु हुँदैन,” उनले भने,“षड्यन्त्रकारी, संविधान र लोकतन्त्र विरोधीलाई ध्वस्त पार्नुपर्छ । सिंगो देश लागेर त्यसलाई परास्त गर्नुपर्छ ।”

सरकारको निर्वाचन नगराउने षड्यन्त्रलाई कुनै पनि हालतमा एमालेले स्वीकार नगर्ने ओलीले बताए । “निर्वाचन नगर्ने कुरा हामी मान्दैनौँ । स्वीकार गर्दैनौँ,” उनले भने,“यस्ता षड्यन्त्रलाई पराजित गरेर भए पनि मुलुकमा चुनाव गराउनुपर्छ ।”

ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गरे ।

गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र धरासयी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...