काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र र संविधान जोगाउन आगामी निर्वाचनहरुमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने,“पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहिँ शक्तिले जित्यो भने हामीले बलिदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।”
सहरी विकास मन्त्रालयले ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’लाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरु सक्रिय रहेको बताए ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै प्रचण्डले भने,“संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकार नठान्नेहरु कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरु भइरहको छ । यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्नेगरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ ।”
त्यस्तै, विकास निर्माणका विधेयक र ऐनहरु बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने प्रचण्डले बताए ।
कार्यक्रममा प्रचण्डले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गर्दै भने,“उहाँले धेरै राम्रो काम गर्नुभएको छ, अरु मन्त्रालयले पनि यस्तै गरी काम गरोस् ।”