निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसक्यो, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ : थपलिया

108

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसकेकाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा उनले निर्वाचन स्थगित गर्न नमिल्ने बताएका हुन् ।

“गाडी छुटेको होइन, प्लेन छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिँदैन,” मिडियो अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले भने,“निर्वाचन रोकिए दुर्घटना हुन्छ । आयोग दुर्घटना घटाउन चाहँदैन ।”

थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । कांग्रेस नेता डा.शशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको भन्दै उनले आचारसंहिता उल्लङ्घन गर्ने दलहरुसँग पनि जबाफ माग गरेको बताए ।

निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहम् भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका खेल्न आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...