काठमाडौँ । भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन विस्का जात्राको दोश्रो दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ ।
स्थानीय भक्तजनहरुले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने विस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।
यसअघि विस्का जात्राको रथ तान्ने क्रममा गएराति भएको ढुङ्गा हानाहानमा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते साँझ लिंगो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।
यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।