पोखरामा ट्होटें पर्व मनाइँदै

220

पोखरा । तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलबार चैत्र २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ।

वर्षमा दुई पटक चैत्र र साउनको तीन मंगलबार तमु गाउँ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामूहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलबार मनाउँदै आएको छ।

तमु नास(गाउँ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो ।

उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरा सभा गृहमा भेला भइ विभिन्न झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभा गृह चोक, लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालको प्राङ्गणमा समारोह गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

कोरोनाको महामारीले गर्दा विगत दुई वर्ष सांकेतिकरुपमा मात्रै मनाइएको ट्होटें यस पटक भने भव्यताका साथ मनाइने साँस्कृतिक समितिका संयोजक कृष्णकुमार गुरुङले बताए ।

तमुहरुको ऐतिहासिक एवम् पौराणिक पर्व ट्होटें गाउँबस्ती र समाजहरुले गएका तीन हप्ता विभिन्न तरिका मनाए भने अन्तिम मंगलबार सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा मनाइँदै आएको र ट्होटें तयारी अन्तिम चरणमा पुगेको संयोजक गुरुङले बताए ।

ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आमन्त्रण गरिएको गुरुङले बताए ।

ट्होटेंको ऐतिहासिक महत्वका साथै एकता र संस्कृतिको विकासका लागि तमु धिं नेपालले तत्कालीन युवा संयोजक हितकाजी गुरुङको संयोजकत्वमा विसं २०५२ सालदेखि तमु धिंले सामूहिक रुपमा ट्होटें मनाउँदै आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...