संविधान र राष्ट्रियता जोगाउन वाम–लोकतान्त्रिक गठबन्धन : नेता तामाङ

356
  • रामहरि गजुरेल

नुवाकोट । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले नेपाली जनताको बलिदानबाट प्राप्त संविधान, राष्ट्रियता र लोकतन्त्र बचाउन पनि अबको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताएका छन् ।

प्रतिगमनविरुद्ध जनताको बलबाट सिंगो मुलुकले नै विघटित संसद पुनःस्थापनामार्फत् एउटा जित हासिल गरेको चर्चा गर्दै नेता तामाङले गणतन्त्र, संघीयता र जनताद्वारा लिखित उन्नत संविधानसहितको व्यवस्था जोगाउनकै निम्ति पनि अहिले सरकारमा सामेल राजनीतिक दलहरुबीचको गठबन्धन आगामी हुने तीनै तहको निर्वाचनमा चुनावी गठबन्धनको रुपमा समेत अपरिहार्य रहेको आवश्यकता औँल्याए ।

‘जसबाट मात्रै प्रतिगमनविरुद्धको आन्दोलनले अन्तिम र निर्णायक जित त्यतिबेला प्राप्त गर्ने छ,’ नुवाकोटको म्यागङ गाउँपालिकास्थित किम्ताङमा सहिद स्मृति बहुउद्देस्यीय सहकारी संस्थाको आयोजनामा भएको सहिद कान्छीमाया तामाङ प्रतिमा स्मृति भलिबल कप प्रतियोगिता २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र बागमती प्रदेशका सहईन्चार्ज समेत रहेका नेता तामाङले उक्त धारणा राखे ।

वैशाख ३० गतेको स्थानीय निर्वाचन मात्रै नभएर आगामी मंसिरमा हुने प्रदेश र संघीय संसदसहित तीनै तहको निर्वाचनसम्म सँगै लैजाने गठबन्धनको उद्देश्य रहेको उनले स्पष्ट पारे । ‘हाल सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादीलगायतका दलहरुबीच गठबन्धनलाई निर्वाचनमा झन् बलियो बनाउने यसअघि नै आपसी सहमति बनिसकेको छ’ उनले भने ।

गठबन्धनकै पक्षमा आगामी चुनावी नतिजा आउने र त्यसबाट जनताले अपेक्षा गरेजस्तै मुलुकको विकासमा इतिहासकै नयाँ मार्गचित्र निर्माण हुनेमा विश्वास व्यक्त गरे । त्यसका लागि वाम गठबन्धनको साझा उम्मेदवारहरुलाई अमूल्य मतदानद्वारा प्रचण्ड बहुमतले निर्वाचित गराउन गठबन्धन दलका सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक र आम मतदाताहरुमा नेता तामाङले आह्वान गरे ।

स्थानीय तहहरुमा कहाँ, कसरी र केका आधारमा तालमेल गर्ने भन्ने विषयमा केन्द्र, जिल्लादेखि स्थानीय पालिका स्तरसम्म गठबन्धनमा सम्बद्ध दलहरुका सबै पार्टी कमिटीहरुबीचमा आपसी छलफल अघि बढिसकेको नेता तामाङले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...