काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान, लोकतन्त्रक र व्यवस्था बचाउन सत्ता गठबन्धन गरिएको बताएका छन् ।
सोमबार रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित मानपकडीमा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले संविधान अहिले पनि पूर्ण नभएको र संविधान परिमार्जित गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको रहेको बताउँदै संविधान र व्यवस्था बचाउन सत्ता गठबन्धन गरेको बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनसम्म नै गठबन्धनलाई निरन्तरता दिने बताउँदै आफूहरु गठबन्धन प्रति इमान्दार रहेको तर २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँटफाँट मान्य नहुने जानकारी दिए ।
डा.भट्टराईले गठबन्धन सम्मानजनक रुपले अघि बढे आफूहरु साथ रहने जानकारी दिँदै बेइमानी, हेप्ने र चेप्ने काम गरे आफूहरुले विकल्प सोच्ने बताए । उनले नेकपा एमाले, कांग्रेस, माओवादी कुनै पनि पार्टीले देशको विकास, सम्वृद्धि नगर्ने बताउँदै देशको मुहार फेर्ने गरी आफूहरु पार्टी बनाउन लागेको जिकिर गरे ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा पार्टी परित्याग गरी करिब ३०० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।