काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ कम्युनिस्ट भए आफू कम्युनिस्ट नहुने बताएका छन् । उनले ‘वामपन्थी भनेपछि मान्छेले प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ !’ भन्ने गुनासो पनि गरे ।
ओलीले प्रचण्ड कम्युनिस्ट हुन् भने आफू नभएको र आफू कम्युनिस्ट हो भने प्रचण्ड नभएको बताए । “म कम्युनिस्ट हुँदा, प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् । त्यो सम्भव नै छैन । दुईटा एउटै कुरा कसरी हुन्छ । उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ । म शान्तिको पक्षमा हुन्छु । उहाँ जनता भिडाउन खोज्नुहुन्छ मान्छेलाई, म मिलाउन खोज्छु,” सोमबार प्रोग्रेसिभ इञ्जिनियर्सको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने ।
आफू र प्रचण्डलाई तुलना गर्दै ओलीले थपे– “उहाँ मधेस र पहाडको लडाइँ लडाउन खोज्नुहुन्छ । म शान्ति कायम गरेर मेलमिलापसँग अगाडि बढ्नुपर्छ, हामी नेपाली हौँ भन्छु । सबैलाई अधिकार समान दिनुपर्छ भन्छु । उहाँले यो र त्यो धर्म भनेर अनेकथरी झडप गराउन खोज्नुहुन्छ । घृणाको खेती लगाउन खोज्नुहुन्छ । म त्यो गर्दिनँ ।”
प्रचण्डले वामपन्थी आन्दोलन कमजोर पार्नका लागि काम गरेको र आफूले मजबुत बनाउनका लागि काम गरेको ओलीको दाबी छ । “उहाँ भत्काउने काम गर्नुहुन्छ, म बनाउने काम गर्छु । मैले एकता गराउने काम गरेँ । उहाँ फुटाएर हिँड्नुभयो,” उनले भने ।
ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड–माधवहरु प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरे ।
ओलीले भने,“उनीहरुले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरुले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।”
सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको विकासका लागि एमाले सरकारले धेरै काम गरेको र आगामी निर्वाचनपछि एमाले सरकारमा गएर ‘सुखी नेपाली समृद्ध नेपाल’को आकांक्षा पूरा गर्ने धारणा राखे ।