स्थानीय निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्ने छ : प्रचण्ड

221

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।

बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मण लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने,“हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगाना लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्ने छ ।”

आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गरे । पाँच करोड ५० लाख लागतको ४० कोठे र चार करोड ८३ लाख लागतको २१ कोठे गरी दुई अत्याधुनिक भवन शिक्षालय तयार भएका छन् । प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गरेका हुन् ।

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व.निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको ३ वर्ष पूरा भएको छ । शिक्षालयले सिभिल इञ्जिनियरिङ, जोमेट्रिक इञ्जिनियरिङ (अमिन, सर्भे), वन विज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यवहारिक सीप दिँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...