स्थानीय निर्वाचनमा शतप्रतिशत गठबन्धन नहुन सक्छ : मुख्यमन्त्री पाण्डे

173

नुवाकोट । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आसन्न स्थानीय तह निर्वाचनमा सबै स्थानमा पाँच दलीय गठबन्धन हुनेमा आशंका व्यक्त गरेका छन् ।

विदुरमा समाजवादी पत्रकार संगठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेको दलहरुले पाँचदलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठबन्धनमा हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशंका भने कायमै भएको बताए ।

“कतै एकै दलको मात्र बाहुल्य भएको हुनसक्छ । त्यस्तो ठाउँमा किन गठबन्धन गर्ने भन्ने कुरा हुनसक्छ । स्थानीय तहका कार्यकर्ताबाट त्यस्तो आउनसक्छ । कतै बागी उम्मेदवार खडा गर्ने र गोप्यरुपमा उसलाई सहयोग गर्ने पनि हुनसक्छ,” उनले भने,“हामी पनि टेष्टेड भएका छैनौँ, के होला भन्ने छ । गठबन्धन ८० प्रतिशत ठाउँमा विश्वासपूर्ण रुपमा कायम हुन्छ ।”

मुख्यमन्त्री पाण्डेले गठबन्धनसँग उम्मेदवार भाग लगाउँदा एमालेले जितेको जति हामीलाई दिनुपर्छ भन्ने बताए । “छलफल होला केही थपघट होला तर दाबी भने एमालेले जितेको जति हामीलाई चाहिन्छ भन्ने नै छ । यसको खाका एक सातामै टुंगो लाग्ने छ,” उनले भने ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन लागेको समेत दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...