काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटकभन्दा यस पटक प्रगती गर्ने दाबी गरेको छ ।
माओवादीले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा झन्डै एक हजार ३०० वडा र ११६ पालिकामा जित निकालेको थियो ।
निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता पुनले भने,“हामी आफ्नै तागतमा विश्वास गर्छौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।” उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे ।
अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ ।
दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेन्डा नभएपछि अन्य राजनीतिक दलको तेजोवोधन गर्न लागिपरेको उनको भनाइ छ ।
अन्य पार्टीले जितेको भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उनले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।
अग्रगामी एजेन्डा, विचार, राजनीतिकलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उनले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताए ।