काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का जहाजमार्फत् दुई ओटा उडान गरिने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई ओटा उडान गर्न लागिएको बताए । उनले बैंककमा हप्तामा दुई ओटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन ओटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बइमा हप्ताको तीन ओटा र चैत ११ गतेदेखि बेंगलोरमा पनि हप्तामा तीन ओटा उडान भरिएको बताए ।
मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत गरे । उनले भने,“म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरेको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो ।”
पहिले पाँच घन्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घन्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले जानकारी दिए ।