नाबालिग बलात्कार प्रकरण : पल शाहको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

331

काठमाडौँ । उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफ ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन गर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत् न्यायाधीश राजभण्डारीको इजलासमा परेको थियो ।

उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरुको प्रमाणित प्रतिलिपिसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यका अनुसार तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिने छ ।

‘तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शालको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...