एमाले क्विन्टलको ढक, एक केजीका पाँचओटा मिलेर फरक पर्दैन : ओली

141

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरु स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए ।

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले भने,“गठबन्धन गर्छौँ भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !”

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरुबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीले यस्तो अभिव्यक्ति आएको हो ।

ओलीले सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेर आफूहरुसँग एक्लै लड्न नसकिने स्वीकारेको बताए । ओलीले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक–एक केजीको ढकको पनि संज्ञा दिएका छन् ।

“गठबन्धनमा रहेका पाँच दल भनेका एक–एक केजीका ढक हुन् । तर, एमाले एक्लै एक क्विन्टलको ढक हो । अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुई पट्टि राखेर जोड्दा तुलनै हुन सक्दैन नि ! उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ ।”

ओलीले पाँच ओटाको गठबन्धनले के गर्छ ? भन्दै प्रश्न गरे । एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनैपनि पार्टीले नचिताए हुने ओलीको दाबी छ ।

ओलीले आफू हाराहारीको शक्तिसँग लड्न मात्रै उपयुक्त हुने भन्दै गठबन्धनका दलहरुलाई बच्चाहरुको दल भएको बताए । उनले ती दलहरुसँग निहुरिएर लड्नुपर्ने उनको भनाइ थियो ।

“हामीलाई साह्र बच्चा भयो भने लड्न गाह्रो हुन्छ । बच्चाहरुसँग निहुरिएर लड्न सकिन्न,” उनले भने,“एउटाको काँधमा अर्को चढ्छ । लोभिपापीको गठबन्धन कति गाह्रो छ । गठबन्धनले एकै दिन मनोनयन गर्न सक्दैन भनेर दुई दिन राखिएको छ । एक हप्ता गराए पनि के भो र मनोनयन नै हुने होला ।”

Share This:
सम्बन्धित खबर
Loading...