ग्रामीण बस्तीमा टेलिकमको सेवा विस्तार

548
  • थम्मन थापा

बागलुङ । मोबाइल सेवा नहुँदा सामान्य कामको लागि पनि घन्टौँ हिँडेर सम्बन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाइ झेल्दै आइरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ ।

कुश्मा नगरपालिका–१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरी टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका छन् । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नम्बर ७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीहरुमा कभरेज भएसँगै स्थानिय खुसी भएका छन् ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफनो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्र रुपमा अगाडी बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजीमार्फत् भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । मोबाइल सेवा सूचारु भएसँगै मोबाइल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भने– “त्यहाँ रहेको टावरबाट प्राविधिक हिसाबले सेवा प्रवाहमा जटिलता भएको र धेरै भूभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भूभाग समेटने गरी यो टावर निर्माण गरेका हौँ, अहिले समस्या हल भएको छ ।” मोबाइल प्रयोगकर्ताको समस्यालाई मध्यनजर गरी त्यहाँका स्थानिय र जनप्रतिनिधिसँगको समन्वयमा स्थायी संरचना निर्माण गरि मोबाइल सेवा सूचारु गरिएको शर्माको भनाइ छ ।

टेलिकमले उक्त टावरमा छिटै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नति गर्दै लैजाने टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य ईन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको उनले बताए ।

त्यस्तै, टेलिकमले मोदी गाउँपालिका–३ लाङदी देउरालीमा पनि टावर निर्माण गरि सेवा सूचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोबाइल सेवा सूचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाइससँगै उच्च गतिको अत्याधुनिक प्रविधिको फोरजीमार्फत् एन्टरनेट (मोबाइल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।

मोबाइल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका–३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नम्बर ४ को लेसपार, क्याङ, खुँइजरी र वडा नम्बर ५ को बाजुङका झन्डै १२ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

पहिले मोबाइलमा हल्का सिग्नल दिन्थ्यो नेटवर्क नहुँदा फोन सम्पर्क गर्न र इन्टरनेट चलाउन साह्रै समस्या थियो टावर सञ्चालनमा आएपछि घरमै बसेर मोबाइल सेवा प्रयोग गर्न पाउँदा आफूहरु खुसी भएको स्थानीय विष्णुप्रसाद गुरुङले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...