युनेकस्को नीति सम्मेलनमा नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

71

काठमाडौँ । युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ ।

कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरुबीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिइन् ।

अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई उक्त क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो ।

उनले भनिन्,“दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपालीकै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरुको भाषण सुनिन्थ्यो भने यसपालि हामीहरुका कुरा मन्त्रीलाई सुन्नमात्र लगाइएन, आपसी प्रश्नोत्तरसमेत भएकाले जबाफदेहिताका लागि घचघच्याउने काम पनि भएको छ । प्रतिबद्धताको पछि हामीले फलोअप पनि गर्नसक्ने छौँ ।”

उक्त सम्मेलनमा महामारीको प्रभावलाई सम्बोधन गर्न तथा संकट समाधानका लागि दिगो व्यवस्थापन, विश्वव्यापी योजनामा सहभागी गराउन महत्वपूर्ण उपलब्धि भएको महसुस गरिएको छ ।

त्यसअवधिमा विभिन्न मुलुकका ३४ अनुसन्धानकर्ताले १६ महिना लगाएर महामारीमा युवा वर्गमा परेको प्रभावबारे अनुसन्धान गरेका थिए । कोभिडका कारण युवामा मानसिक स्वास्थ्यदेखि मानवअधिकारसम्म, सिक्ने सीपदेखि जीविकोपार्जनसम्म र युवा नेतृत्वदेखि उनीहरुको प्राविधिक भूमिकासम्ममा असर पारेको अनुसन्धानको निष्कर्ष छ ।

सम्मेलनमा नेपाली अनुसन्धानकर्ता मानन्धरले अनुसन्धानमा महामारीको प्रभाव असमान रहेको र युवा स्वयंसेवक समूहमा स्रोतमा पुहँच कम सुरक्षित संरक्षणको अभाव तथा मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामा असर परेको फेला पारिएको जानकारी गराएकी थिइन् ।

युवामा श्रम तथा रोजगारी नुहुनु, दोहोरो श्रमलगायतका कारण मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । युवा स्वयंसेवकको शारीरिक र मनोवैज्ञानिक जोखिमलाई ध्यानमा राख्दै, सुरक्षित र समावेशी नीति अबलम्बन गर्नुपर्ने उनको सुझाव छ ।

Share This:
सम्बन्धित खबर
Loading...