काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासीमाथि गठबन्धनले बञ्चरो चलाएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्दै उनले लालपुर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलाएको बताएका हुन् ।
“हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो । हामी ढाँटेर हिँड्दैनौँ । हामीले सुकुमबासी समस्या, भूमि समस्या समाधान गर्न आयोग बनायौँ तर भूमिहीनलाई धनी पुर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो,” उनले भने, “अब अहिले अघिल्लो सरकारले फाइल लुकाइदिएको छ । हामी फाइल खोज्दैछौँ । भेट्टाएपछि हामी बाँड्छौँ भनेर गर्न सक्छन् है । हाम्रो तरिका त्यो होइन ।”
अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार नबनेको भए ‘भ्यु टावर’ बनाउने सोच नआउने बताए ।
“एमाले सरकार बन्दैनथ्यो भने यतिको भ्यु टावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणतया भन्ने हो भने आउने थिएन । किनभने विकाससम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए,” मंगलबार भ्यु टावर उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने ।
ओलीले एमाले सरकार आएपछि देशमा विकास हुने गरेको बताए ।
उनले २०५१ सालमा एमालेको सरकार बन्दाखेरी हामीले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियान लगेर गाउँगाउँमा विकासको बेग्लै अभियान थालेको बताए । पछिल्लो पटक सरकारको नेतृत्व गरेको तीन वर्षमा विकासका लागि अन्तरिक्षमा आफ्नो स्पेस कायम गर्नेदेखि समुन्द्रमा अधिकार स्थापित गरिएको उनले बताए ।