कांग्रेसले आज चुनावी गठबन्धन र उम्मेदवार छनोट मापदण्ड निर्धार गर्ने

265

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ ।

तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले चुनावी तालमेललगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने बताए ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए । आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटी तयार पार्ने छ ।

आइतबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ” अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारण राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारण राख्ने प्रवक्ता महतले बताए ।

बैठकले आगामी चुनावमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।

सभापति शेरबहादुर देउवानिकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता डा.शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...