ओली पूर्वराजा ज्ञानेन्द्र निवासमा सुटुक्क जाने गर्छन् : माधव नेपाल

172

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ ९समाजवादी०को काठमाडौँ जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओली पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् ।

अध्यक्ष नेपालले ओली दक्षिणपन्थी भएको दाबी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे । तर, आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ थियो ।

“गठबन्धन तोड्न ओली लागिपरेका छन् । उनी पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठागाँठ गर्न खोजिरहेका छन् । विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्,” उनले भने,“दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थी शक्ति हौँ । लोकतान्त्रिक र वामपन्थी शक्तिहरुसँग मिलेर अघि बढ्छौँ ।”

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।

एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको नेपालको दाबी छ । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको उनले बताए ।

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकाले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...