धनगढी । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढी स्थानमा जित हात पार्ने दाबी गरेका छन् ।
प्रेस चौतारी कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले यस्तो दाबी गरेका हुन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत सिट जितेको भन्दै उनले आगामी निर्वाचनमा थप बढी सिट जित्ने बताए ।
एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्रै भएको बताउँदै उनले भने,“कांग्रेससँग टाँसिएर थोरै सिट पाइन्छ कि भनेर केही दल तालमेलको रटान मात्रै गरिरहेका छन् । बहुमत आउने दुई दलको मात्रै हो । एमाले पहिलो दल बन्छ ।”गठबन्धनको बलियो वैकल्पिक शक्ति एमाले मात्रै भएको उनको भनाइ छ ।
नेता भट्टराईले एमालेलाई ६० प्रतिशतभन्दा बढी सिट पाउन कुनै दलसँग तालमेल पनि गर्न आवश्यक नभएको र त्यसका लागि पार्टीले कुनै निर्णय पनि नगर्ने बताए । यद्यपि उनले जिल्लामा तालमेल गर्न सकिने कुरामा खुला छाडिएको बताए ।
गठबन्धनले कुनै असर नगर्ने र यसप्रति एमालेलाई कुनै चिन्ता पनि नभएको उनले बताए ।
फरक विचारधाराबीचको गठबन्धन स्वार्थको आधारमा बनेको आरोप लगाउँदै उनले यो कुनैपनि बेला भत्किने बताए । साथै, उनले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताए ।