एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

223

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । उनले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताइन् ।

बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन् । उनले भनिन्, “एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौँ ।”

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए ।

उनले भने, “मन्त्रालयले सहरीकरणमा थुप्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा सहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।”

कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...